Pages

Saturday, December 8, 2012


भ्रम

शेखर ढुंगेल
नमस्कार !

कोही अपरिचित व्यक्तिले किरणतर्फहात फर्काउँदै अभिवादन गर्यो । किरण अकमक्क पर्यो । पछाडि फर्केर हेर्यो सायद अरु कसैलाई नमस्कार गरेको होला ! तर पछाडि कोही थिएन । औपचारिकताका लागि नमस्कार फर्कायो । हाँस्दै हात मिलायो अनि सोध्यो? हाम्रो भेट कतै भएको थियो र? माफ गर्नुहोला, मैले त ठम्याउन सकिनँ । यहाँको नाम जान्न सक्छु होला?

मेरो नाम दीपक हो, म माथिल्लो टोलमा बस्छु । अनि सोध्यो तपाईं डाक्टर साहेब होइन? उसको प्रश्नले आफ्नो व्यक्तित्वप्रति किरण आफैं गद्गद् भयो एकछिन । प्राकृतिक रुपमा हँसमुख अनि व्यक्तित्वको धनी किरणलाई बेला?बेलामा अलग?अलग जात र पद दिई सम्बोधन गरेको यो पहिलो पटक भने थिएन ।

यस पटक एक्लो उपस्थितिमा कसैले नितान्त एकदमै भिन्न दर्जा दिएकोमा किरण चकित पर्यो । किरणले एकदमै सहज तरिकाले जवाफ दियो, होइन, म खाते हुँ । दीपक !
के भन्नु हुन्छ? किन मजाक गर्नु भो डाक्टर साहेब ? किरणले फेरि दोहोर्यायो, 'होइन, म खाते नै हुँ 'दीपकले भन्यो 'यो सेतो कोट....,’किरणले हल्का हाँस्दै भन्यो, 'विश्वास गर्नुहोस्, म खाते नै हुँ ।

दीपकले विश्वास गरेन र फेरि थप्दै गयो, 'सेतो कोट, यो महँगो घडी, यो व्यक्तित्व तपाइ डाक्टर नै हो । ल किन ढाँट्नु हुन्छ ठूलो मान्छे भएर ? दीपकको जिद्धी देखेर किरणले मनमनै भन्यो, 'यो कस्तो मुर्ख मानिस होला, एक त अपरिचित त्यसमा पनि नभएको पगरी गुथाएर उस्टो हो भन्ने गराउन जोडदिइरहेको छ । म त्यो होइन भन्दा विश्वास नै गर्दैन ।

घरमा बच्चाले मम, तन्दुरी, चिकेन लेराउन भनेकाले किन्न रेष्टुराभित्र पसेको किरणको पछिपछि आएको दीपकले गरेको प्रश्न, उसको विश्वास अडान देखेर मनमा अनेकौं प्रश्नहरुको ओइरो पनि लाग्यो म साच्चिकै डाक्टर भैदिएको भए, हो म फलानो अस्पताल, क्लिनिक वा कुनै ठूलो मान्छेको निजी डाक्टर हुँ भनिदिन्थें, खुसी हुन्थ्यो होला । अझ कतै मैले मेरो ठूला-ठूला नेतासित पहुँचको गफ छोडिदिएको भए, फोन, ठेगाना वा बिजनेस कार्ड माग्दथ्यो होला । उसको आफ्नै नभए अरु कोहीको काम फत्ते गर्न सिफारिस गरिदिन अनुरोध गर्दथ्यो होला । म 'पक्का काम हुन्छ, चिन्ता नगर्नुहोस भनी विश्वास लाग्ने गरी आश्वासन दिन्थें होला । ऊ झुक्दै नमस्कार गथ्र्योहोला । मेरो मम र चिकेन तन्दुरीको पैसा तिरी मलाई किन्न बैनाबट्टा गथ्र्यो होला । त्यो प्याकेट गाडीसम्म पुर्याउन आई गाडीको ढोका बन्द गरिदिन्थ्यो होला ।

तर किरण न त डाक्टर थियो न त नभएको गफ दिएर झुकाइ खाने स्वभाव नै थियो उसको । सामान्य रुपमा भद्र नै देखिने दीपक नै बरु कुनै सरकारी कर्मचारी हुनुपर्दछ । अपरिचितसित अप्रसंग नै नजिक हुनखोज्ने स्वभाव उचित कि अनुचित ? जेहोस्, जोसुकै होस्, दिएको सत्य जबाफलाई विश्वास नगरी आफ्नै जिद्दीमा अडान राखेको छ दीपकले । रेष्टुरा व्यस्त थियो, किरणको सामान अझै तयार भैसकेको थिएन । दीपक अझै अक्कबक्क भै किरणलाई नियालि रहेको थियो ।

अरु दुई ग्राहक भित्र पसे । दीपकले उनीहरुलाई सोधेर किरणलाई डाक्टर सावित गराउन खोज्यो । दुवै अपरिचित गलल हाँसे र टेबुलमा बसे । दीपक भने खिन्न मन लगाएको जस्तो देखियो ।
किरणले दीपकलाई उसकै बारेमा सोध्यो । दीपकले पनि सीधै जबाफ दियो? 'म व्यापारी । घर, जग्गा, गाडीको खरिद-विक्री गर्दछु । राम्रै चलेको छ

किरणले १० बर्ष अघि मात्र नोकरीको खोजिमा राजधानी पसेको दीपक साइकल, मोटरसाइकल खरिद-बिक्रीको प्रगतिले उसलाई समाजमा ठूलो मान्छे बनाइसकेको सोच उसमा पलाएको पायो ।
कुराकानीको क्रममा दीपकको पहुँच निकै माथिसम्म रहेको किरणले थाहा पायो । दीपकको गाडी किरणकै कारपछाडि रोकिएको थियो । तर कार वास्तबमा उसको थिएन, बिक्रीको लागि कसैले उसको ग्यारेजमा राखेको कार थियो त्यो । तर ग्यारेजमा यसरी राखिने सबै कारको स्वाद उसले चाखिसकेको थियो ।
किरणलाई त्यस्तो अप्ठ्यारो अवस्था पहिले पनि नपरेको होइन । केही बर्षपहिलाको कुरा हो, उसको एकजना नातेदार प्रहरीका ठूलो हाकिम थियो । ऊ जिल्ला भ्रमणमा जाँदा किरण पनि साथै गएको थियो । जिल्ला तहका हाकिम डिएसपीले आफ्ना हाकिमलाई जस्तै उसलाई ड्याम्म यसरी सेलुट गरेकी ऊ झसंग भएको थियो । पसिना?पसिनाजस्तो भएको थियो किरण ! अब के भनेर परिचय गर्ने ? तर चलाक किरणका आफन्तले कुरा मोडिदिए । तर चलाक किरणका आफन्तले कुरा मोडिदिए, परिचय गर्नै परेन ।

यस्तै उनलाई भेट्न प्रहरी प्रधान कार्यालय जाँदा कतिले किरणलाई सेलुट नगरेका पनि होइनन् । किरणको ब्यक्तित्व मारवाडी, ब्यापारी, प्रहरी, सेनाका अधिकृतजस्तै थियो? छोटो कपाल र टोपीमा ऊ सधैं हुन्थ्यो । नचिनी सेलुट गर्नेहरुदेखि किरण मनमनै खुबै हाँस्दथ्यो ।

आज किरण, डाक्टरको रुपमा छ दीपकको अगाडि जो ऊ होइन । 'हजुरको मम तयार भयो,' दीपक पनि सामानको पर्खाइमा थियो, दीपकले अझै पनि किरणलाई हेरिरहेको थियो । दीपकको आँखाले मलाई किन ढाँटेको ? भनिरहेकै थियो । दीपकको भ्रमले किरणलाई पनि मजा भने दिएको थिएन कहाँको यथार्थ कहाँको भ्रम ?

किरणले आफूमाथि विश्वास गर्न अनुरोध गर्ने के सोचेको मात्र थियो, दीपकले फेरि जबरजस्ती प्रहरीले केरकार गरेझैं सोध्यो । 'यो सेतो कोट, महँगो घडी, महँगो कार चढ्ने डाक्टर नभए को त ?' दीपकको जिद्दीले किरणलाई अब आफ्नो साच्चिकै औकात देखाउन प्रोत्साहित गर्दैथियो । नम्रता र शिष्टता पनि टुट्यो अनि कारको सिटबाट चिच्यायो?'दीपकजी म खाते नै हो । हिजोका खातेले प्राडो, पाजेरो चढेको देख्या छैन? खातेहरुले नयाँ-नयाँ महल बनाएको देख्या छैन? महँगो अत्तर र्छर्केर र्टाई ढल्काएको देख्या छैन ? लुगाजस्तो लायो मानिस त्यहीं हुन्छ ! भ्रष्ट गरिब, चुसुवा, महान समाजसेवी बन्या सुन्या छैन ? हामी नेपालीले समय र मानिस चिन्न आजसम्म किन सकेका छैनौं ? यो कोट मेरो मालिकले जापानबाट, यो घडी मालिकको छोरीले अमेरिकाबाट ल्याइदिएको । यो गाडी ? म यो गाडीको ड्राइभर ! किरणको र्छराझैं निस्केको जवाफले दीपक तिल मिलाउन पुग्यो । ऊ ढोकाको आड समातेर थुचुक्कै बस्यो । 'अब त उसको भ्रम पक्कै टुट्यो होला ? किरण हाँस्दै अगाडि बढ्यो ।

समाप्त
 "क्षितिज पारिका सपना हरु "कथा संग्रह बाट 

No comments:

Post a Comment