Pages

Thursday, December 13, 2018

सत्य आफै बोल्छ
मानिस नियमित बोलिराख्छ
कतै कुन्ठा , कतै स्वार्थ बोकेर
समयले सिमा तोक्छ
झुठका पुलिन्दा निख्रिन थाल्छ
धकेलिदै जब भित्तामा पुग्छ
एक दिन ढिला चाडो सत्य आफै बोल्छ ।
हो त मानिस बोलिराख्छ
कतै कुटिल मुस्कान बाँडेर
कतै घनिभूत आक्रोस पोखेर
कहिले भ्रम, कहिले सत्ता बनेर
जब खेल को पर्दा खस्न थाल्छ
जानी न जानी सत्य आफै बोल्छ ।
उ हेर मानिस बोलिरहेको छ
कहिले सपनामा कहिले जोशमा
कहिले निरस कहिले कर्कस
जब नियतिका पर्खाल भात्किन्छ
सामुन्ने निस्पटता छाउँछ
दु:ख होस् या सुख सत्य आफै बोल्छ ।
हो त मानिस बोल्छ बोल्न चाहन्छ
बाँधिएको छ रे ऊ सिदान्तको रेखामा
बाँधिएको छ रे ऊ अनुशासनको सिमामा
जब तन मन र धनले बिदा हुन ढिपी गर्छ
राम्रो न राम्रो बिर्सेंर सबै
अन्तत आँफै मानिस सत्य बोल्छ ।

No comments:

Post a Comment